काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध प्रहरीले पाँच जिल्लामा एकसाथ अनुसन्धान सुरु गरे पनि पर्सामा भने मुद्दा रोकिएको छ ।
‘माथिको आदेश’ भन्दै प्रहरीले अनुसन्धान सकेर पनि रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छैन । पर्साको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भन्दै यहाँ पनि रविमाथि अनुसन्धान भएको थियो ।
तीन महिनाअघि नै उनलाई पर्सा लगेर बयानसमेत लिइएको थियो । यसअघि कास्की, काठमाडौं, रूपन्देही र चितवन सबै जिल्लामा मुद्दा दर्ता गरेलगत्तै अदालतमा उपस्थित भई धरौटीमा छुटेपछि बाँकी पर्सामा भने मुद्दा दायर गर्न सरकार हच्किएको छ ।
वीरगन्ज महानगरपालिका– ६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको विषयमा यसअघि नै दुईपटक जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भइसकेको छ ।
पहिलोपटक २३ असोज ०८० मा सहकारीका वर्तमान तथा पूर्वपदाधिकारी १३ जनालाई प्रतिवादी बनाई सहकारी ठगी मुद्दा दर्ता गरिएको थियो । पछि २ फागुन ०८० मा अर्को मुद्दा पूरक अभियोगका रूपमा दर्ता भएको थियो ।
पूरक अभियोगमा पनि प्रतिवादी १३ जना नै छन् । सुरु अभियोगमा ४९ जनाको मात्र जाहेरी थियो भने पूरकमा १७९ जनाको जाहेरी राखेर पूरक अभियोग चलाइएको थियो ।
लामिछानेसँगै उनको पार्टी नेताहरू समेत पछिल्लो समय सहकारी ठगी प्रकरणमा चुपचाप छन् । यसलाई कतिपयले भने अहिले आन्तरिक भद्र सहमतिमा सहकारी प्रकरणलाई किनारा लगाउने र सुरक्षित अवतरणको गुप्त शिलशिला चलिरहेको विश्लेषण गर्न थालेका छन् ।
रविको खरो विरोधमा उत्रिने सत्तापक्षका नेताहरू समेत अहिले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भन्दै तर्किने गरेका छन् ।
यसले राजनीतिबाट सुरु भएर राजनीतिमै अन्त गरिने ठूला काण्डहरुको लिस्टमा सहकारी घोटाला पनि मुलतबिमा थन्किने विश्लेषण समेत हुन थालेको छ ।