रौतहट, ९ माघ । रौतहटको सिमावर्ती क्षेत्रमा नक्कली चाइनिज पेस्तोल (खेलौना) देखाई ठगी गर्दै आएका एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, खरोही ग्राम पञ्चायत वडा नंं. ४ का २० वर्षीय अब्दुल कलाम रहेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार, अब्दुल कलामले रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ स्थित मठिया क्षेत्रमा नक्कली पेस्तोल देखाएर स्थानीयलाई त्रसित पार्दै पैसा असुल्ने कार्य गर्दै आएका थिए ।
गत माघ ७ गते साँझ करिब ७:३० बजे अब्दुल कलामले नक्कली पेस्तोल देखाएर ठगी गरिरहेको सूचना पाएपछि, प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउपछि उनको साथबाट नक्कली चाइनिज पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका अब्दुललाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै अनुसन्धानका लागि म्याद थप गरिएको जानकारी प्रहरी निरीक्षक महतोले दिएका छन् । प्रहरीका अनुसार, अब्दुल कलामले सिमावर्ती क्षेत्रमा मानिसहरूलाई त्रासमा पारी पैसा माग्ने कार्य गर्दै आएका थिए ।
पछिल्ला समयमा चोरी र ठगीका घटनाहरूमा वृद्धि भएकोले, सर्वसाधारणलाई यस्ता घटनाबाट सजग रहन र कुनै शंकास्पद गतिविधि देखेमा तत्काल प्रहरीलाई जानकारी गराउन प्रहरीले अनुरोध गरिएको छ ।
प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउने र यस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न स्थानीय समुदायसँग सहकार्य गर्ने योजना बनाएको छ ।