काठमाडौ: नेकपा एमालेका संगठित सदस्यहरुको पार्टी गतिविधिमा सक्रियता कमजोर देखिएको छ। यही मंसिर २७–२९ सम्म काठमाडौँमा हुने पार्टीको ११औँ महाधिवेशनप्रति सदस्यहरुको खासै रुचि र सक्रियता नभएको शनिबार भएको प्रतिनिधि छनोटले देखाएको हो।

केही ठाउँमा सहमतिले प्रतिनिधि पठाए पनि अधिकांश ठाउँमा भावी नेतृत्वका लागि आकांक्षा देखाएका केपी ओली र ईश्वर पोखरेल पक्षबीच प्यानलगत रुपमा चुनाव नै भएको छ। चुनाव भएका सबै जसो ठाउँमा बढीमा संगठित सदस्यहरुमध्ये करिब ५० प्रतिशत हाराहारी मात्रै उपस्थित भएर मतदान गरेको आँकडाले देखाएको छ।
राम्रो संगठन र परिचालन गर्ने क्षमता राख्ने बताइँदै आएको एमालेमा यसपटक २१ प्रतिशत सदस्यले मात्रै पनि महाधिवेशन प्रतिनिधि चयन गरेका छन्।

पार्टीको सदस्यता लिएका ५० प्रतिशत कार्यकर्ता पार्टी गतिविधिमै सहभागी नभएको पाइएको नेताहरुले जनाएका छन्। एमाले काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलाले काठमाडौँमा संगठित सदस्यमध्ये करिब ५० प्रतिशतले मात्रै प्रतिनिधि छनोटमा सहभागिता जनाएको देश सञ्चारसँग बताए।
उनले काठमाडौँमा एमालको संगठित सदस्य १५ हजारभन्दा केही बढी रहेकोमा आधा मात्रै शनिबार मतदानका लागि उपस्थित भए। काठमाडौँ एमालेको ‘फर्जी’ संगठित सदस्य नभएको जिल्ला मानिए पनि सक्रियता भने आधामा सीमित भएको छ।
‘हाम्रो जिल्लामा ९९.९ प्रतिशत सदस्य वास्तविक हुन्। तर पनि प्रतिनिधि छनोटमा उपस्थिति करिब आधा मात्रै रह्यो,’ उनले अगाडि भने, ‘विवाह, मृत्यु, विदेश बसाइँजस्ता सामाजिक कारणले पनि केही साथीहरु आउन सक्नुभएन।’
काठमाडौँ–२ मा १६ सय ८ संगठित सदस्यता रहे पनि शनिबार थलीस्थित एक पार्टी प्यालेसमा भएको समूहगत प्रतिस्पर्धामा ५० प्रतिशत पनि सदस्य उपस्थित भएनन्। मतदानमा ७५६ जना सहभागी भएको युवा प्रतिनिधि निर्वाचित भएका नवराज दाहालले बताए।
छोटो समयमा निर्वाचनको तयारी गर्नुपर्दा र कामको सिजन भएका कारण मतदानमा धेरै संगठित सदस्यहरु सहभागी हुन नसकेको उनको दाबी छ। त्यस्तै, काठमाडौँ–३ मा पनि १६ सय सदस्य रहेकोमा मतदानमा करिब सात सय जना मात्रै सहभागी भए।

बाहिरी जिल्ला र गैरभौगोलिक संगठनहरुमा पनि सदस्यहरुको सक्रियता निक्कै कमजोर देखिएको छ। सिन्धुपाल्चोक जिल्लामा करिब ४० प्रतिशत संगठित सदस्य मात्रै प्रतिनिधि छनोट प्रक्रियामा सहभागी भए।
जिल्लाभर ९ हजार ३७९ सदस्य रहेकोमा शनिबार ३ हजार ८ सय ३४ जना मात्रै मतदानमा सहभागी भएका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा १ नम्बर क्षेत्रका झण्डै ६४ प्रतिशत सदस्यहरु अनुस्थित भएको निर्वाचन समितिले जानकारी दियो।
त्यस्तै, लमजुङका ३५ प्रतिशत सदस्यले मात्रै पार्टी गतिविधिमा सक्रियता देखाए। पाँच हजार चार सय संगठित सदस्य रहेको लमजुङमा १९ हाराहारी मात्रै मत खसेको थियो।
ओखलढुंगाले कम संगठित सदस्य सहभागी भएर प्रतिनिधि चयन गरेका छन्। त्यहाँ जम्मा २१ प्रतिशत कार्यकर्ता मात्रै मतदानमा सहभागी भएको पाइएको छ। सात हजार १३४ जना संगठित सदस्य भएको ओखलढुंगामा १ हजार ५१८ जना मात्रै मतदानमा सहभागी भएका थिए।
जिल्लामा कम मत खस्नुको पछाडि विवादका बीच पनि मतदान हुनु मुख्य कारण रहेको नेता यज्ञराज सुनारले बताए। पालिका तहमै प्रतिनिधि छनोटका लागि मतदान हुनुपर्ने माग भएपछि संगठित विभाग र प्रदेश कमिटीले त्यस्तै गर्न भनेको थियो। तर, जिल्ला कमिटीले त्यसलाई अस्वीकार गर्दै सदरमुकाममै मतदान गरेपछि धेरै सदस्यहरु उपस्थित भएनन्। जसका कारण ओखलढुंगाको प्रतिनिधि छनोट कम उपस्थितसँगै विवादित पनि बन्न पुगेको छ।
मकवानपुरमा पनि प्रतिनिधि छनोटको हालत उस्तै भएको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको मकावनपुरमा २ नम्बर क्षेत्रले सर्वसहमत प्रतिनिधि चयन गरे पनि १ नम्बर क्षेत्रमा भने मतदान भएको थियो। करिब चार हजार मतदाता रहेकोमा १५ सय ७० जना मात्रै चुनावमा सहभागी छन्।
पार्टी बलियो रहेको भनिएकै ठाउँमा कार्यकर्ताले सक्रियता नदेखाएपछि जिल्ला अध्यक्ष श्रीधर पोखरेलले समीक्षा हुनुपर्ने बताएका छन्। उपचारका क्रममा काठमाडौँमा रहेका पोखरेलले प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि पराजित भएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधिको रुपमा छनोट हुनुहुने सबैलाई बधाई र विभिन्न भ्रामक प्रचारको बाबजुद मलाई मतदान गर्नुहुने सम्पूर्ण कमरेडहरुप्रति हार्दिक धन्यवाद र समीक्षा गरौँ किन २० प्रतिशतभन्दा तल मतदान भयो?’
त्यस्तै, रुपन्देहीमा ६ हजार पाँच सय संगठित सदस्यमध्ये एक हजार आठ सय मात्रै प्रतिनिधि छनोटमा सक्रिय भए।
पार्टी कार्यालयका अनुसार विशेष प्रदेशअन्तर्गतको उद्योग, व्यवसाय जिल्ला कमिटीमा एक हजार चार सय हाराहारी मतदाता रहेकोमा करिब दुई सयले मात्रै प्रतिनिधि छनोटमा भाग लिए। पेशागत जिल्ला कमिटीमा तीन हजार ६ सय सदस्य भएकोमा ६ सय जना मात्रै प्रतिनिधि छनोटमा उपस्थित भए।
एमालेको गतिविधिमा भूगोलमा रहेका कार्यकर्ता मात्रै नभई केन्द्रीय तहका नेताहरु पनि निष्क्रिय बसेका छन्। पार्टीबाट मन्त्री भएका एक केन्द्रीय सदस्यले प्रतिनिधि चयनमा कुनै सक्रियता नै नदेखाएको देश सञ्चारसँग बताए।

नाम उल्लेख गर्न नचाहेका ती नेताले भने, ‘म यसमा सहभागी भइन्। त्यति जाँगर चलेन। काठमाडौँमै बसेँ।’
मकावनपुरका नेता कृष्णप्रसाद दाहालले पनि पार्टी गतिविधिमा कार्यकर्ताको उत्साह कम भएको गुनासो गरे। उनले भने, ‘साथीहरुमा उत्साह कम छ। पार्टीको अवस्था सबैले बुझेकै छन्। सँगै जिल्लामा मात्रै मतदानको व्यवस्था पनि हुँदा पनि प्रतिनिधि कम छनोटमा सक्रियता कम भएको हो।’
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशन प्रतिनिधि छनोटमा कार्यकर्ताको उपस्थिति कम रहेको र त्यसबारे अध्ययन भइरहेको जानकारी दिए। उनले भने, ‘प्रतिनिधि छनोटमा कम उपस्थित भए भन्ने कुरा आएको छ। किन त्यस्तो भयो हामी बुझिरहेका छौँ। अध्ययन गर्दै छौँ।’
११औँ महाधिवेशनका लागि एमालेले ६ लाख ६२ हजार सदस्यलाई मान्यता दिएको थियो। महासचिव शंकर पोखरेलका अनुसार नवीकरण भएका संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन्। चार वर्षअघि भएको १०औं महाधिवेशनपछि पार्टीमा ३० प्रतिशतले सदस्य बढेको रिपोर्ट पोखरेलले केन्द्रीय कमिटीको बैठकमा पेश गरेका थिए।

