आमा र बहिनी विपिन खोज्दै इजरायलमा, परराष्ट्रमन्त्री भन्छिन्- रिहाइका लागि पहल गरिरहेका छौँ

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत आज उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताइन्। उनले यसो भनिरहँदा विपिनकी आमा र बहिनी बलिन्द्र आँसु झार्दै विपिनको रिहाइको माग राखेर इजरायलमा भौँतारिरहेका छन्।

“यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु। निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा. राणाले उल्लेख गरेकी छिन्।

यसैगरी गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ (एसिडी) सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिइन्। इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन्।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गरिन्। 

उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन्। यस्तै, इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा. राणाले सोही आग्रह गरेकी थिइन्। 

यसैगरी, इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा राणाले आग्रह गरेकी थिइन्।

उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत ध्यानाकर्षण गराएका थिए।

हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेका दावी गर्दै मन्त्री राणाले इजरायली राष्ट्रपतिसँग भेट गरी विपिनको रिहाइको अपिल गरेको जानकारी पनि दिइन्।

[bc_random_banner]

ताजा समाचार

Related Articles