दलहरुमा विधि, अनुशासन र लोकतन्त्र

0
120

अस्ति शनिवार कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवस पारेर आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दुःखेसो नमज्जासंग पोखे । मन्त्री बन्न चाहनेहरुको भिड र घेराबन्दीबाट बल्लतल्ल उम्केर आएको भन्दै भएभरका सबै सांसदहरु मन्त्रीका आकांक्षी भएको हुंदा आफु सारै तनावमा रहेको उनले गुनासो व्यक्त गरे ।

मन्त्री बन्न पाए ठिक छ नत्र यो नेतृत्व नै खराव छ भन्दै धारेहात लगाएर गुट वा पार्टी नै परिवर्तन गर्ने संस्कार हुर्कंदो छ । यो समस्या प्रचण्डको माओवादीमा मात्र होईन, अन्य सबै राजनीति दलहरुमा व्याप्त छ । यस्तै तनाव सरकारको नेतृत्वकर्ता देउवालाई पनि होला भनेर सहजै अनुमान गर्न सकिन्छ । एमालेभित्र पनि यो प्रवृत्तिले राम्रैसंग जरा गाडेको थियो ।

माओवादी छोडेर एमाले समात्ने ७ भाइ र दलको निर्देशन उलंघन गरेर देउवालाई भोट हाल्ने ८ भाइ पनि कुनै न कुनै रुपमा मन्त्री पाउंदा वा नपाउंदाको परिणाम हो भनेर सजिलै भन्न सकिन्छ । यो अब कुनै एउटा अमुक दलको मात्रै चिन्ता र सरोकार होईन, सबै दलहरुमा देखिने आम प्रवृत्ति हो । कम्युनिष्ट र मधेसवादी दलमा त झन् सत्ता प्राप्ति एउटा अभिषाप नै बन्ने गरेको छ । किनकी सडकमा एक ढिक्का, एकमत देखिएका उनीहरु सत्तामा पुगेपछि प्रायः फुट्ने गरेका छन् ।

समस्या दलभित्रको आन्तरिक लोकतन्त्र र बिधिको अनुसरणमा छ । कांग्रेस, कम्युनिष्ट, मधेसवादी प्रायः सबै दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर छ । बिधि र पद्दतीले चल्ने भन्दा पनि दल प्रमुखको मुखको शासन र गुटगत आग्रहले पार्टी चलाउंदै आएका छन् । संसारमा जेजस्ता अभ्यास र परम्पराहरु स्थापित छन्, ती यत्तिकै सनकका भरमा बनेका या बनिबनाउ प्राप्त भएका थिएनन् । लोकतन्त्र आफैंमा एउटा हिंसात्मक राजनीतिक तथा वर्गीय संघर्षको उपज हो ।

राजा र कुलीनका हातमा एकलौटी रहेको सत्ता र शक्तिलाई जनप्रतिनिधिसम्म ल्याउन दुनियांले निकै ठूलो संघर्ष गरेका छन् । हाम्रो आफ्नै इतिहासले पनि यही बताउंछ । एकपटक कुलीनबाट जनतामा सरेको शक्ति र सत्ता आफैंमा जनताको परिभाषाभित्र पर्ने आममानिससम्म पुगेकै छैन । लोकतन्त्रमा यस्ता केही विशेषता यसले अंगालेको हुन्छ, जहां साधारण मानिसले पनि न्याय र सुरक्षाको सम्भावना देख्छन् । त्यही झिनो आशाले उदारवादी लोकतन्त्रलाई अहिलेसम्म टिकाइरहेको छ । यस्तो आशा जगाउने दुईवटा मात्र मूल पक्षहरु छन् ।

पहिलो, विधि र पद्धतिको पालना । दोस्रो, यस्ता विधि र पद्धतिलाई परीक्षण गर्ने मर्यादित र सम्मानित संस्था । अदालत मात्रै पूर्ण सत्यका साथ न्याय निरुपण गर्ने निरपेक्ष सत्ता वा शक्ति अवश्य होइन । विश्वविद्यालय आफैंमा पूर्ण सत्य स्थापित गर्ने ज्ञानको केन्द्र मात्र पनि होइन । यिनमा तत्कालीन वर्गसत्ताका छाप हुन्छन् र सोहीअनुरूपको पक्षधरता यिनमा पनि हुन्छ ।

तर, यिनले आमरूपमा न्यायको पक्ष लिने र आमरूपमा आलोचनात्मक चेत निर्माण गर्ने भएकैले यिनीहरूमा एकप्रकारको भरोसा गरी समाज टिकेको हुन्छ । लोकतन्त्र बलियो हुन यस्ता संस्थासहित समाजका बहुआयामिक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने अनेकथरी संस्थाको जग बलियो हुनुपर्छ । तिनले आफ्ना उद्देश्य अनुरूपका आचरण र व्यवहार गरे भने मात्र लोकतन्त्र बलियो हुने हो । सरकारका निर्वाचित अंग या संविधानले व्यवस्था गरेका संस्था र संरचना मात्र पनि लोकतन्त्रका आधारहरु होइनन् ।

केहि समयअघि सरकारले देश र समाजसामु उपस्थित अवसर र चुनौतीबारे अध्ययन गर्न र राज्यका नीतिलाई तदनुरूप सञ्चालन गर्न सुझाब दिने उद्देश्यले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको थियो । त्यसका संयोजकका रूपमा सरकारले नियुक्त गरेका प्राध्यापक समाजशास्त्री चैतन्य मिश्रले सात महिनामै संस्थाबाट राजीनामा दिनु परेको थियो ।

उनले अहिलेसम्म पनि यसका लागि सरकारलाई दोष लगाएका या सरकारका तर्फबाट अनुसन्धानमा हस्तक्षेप भएको भन्ने आक्षेप त लगाएका छैनन्, तर के बुझ्न सकिन्छ भने उनलाई जुन उद्देश्यसाथ काम गर्न भनिएको थियो, त्यस्तो वातावरण सरकारले नै बनाएन । यसको अर्थ हो, अध्ययन र अनुसन्धानको काम गर्न गठित संस्थालाई उत्प्रेरित गर्ने वातावरण हाम्रो राज्य संयन्त्रका काम कारबाहीमा नितान्त अभाव छ भन्न सकिन्छ ।

कम्युनिष्ट पार्टीभित्र फलामे अनुशासन हुन्छ भन्ने गरिन्छ । तर, आजभोलि उक्त फलामे अनुशासन भुत्ते भएको छ । पार्टीभित्र आलोचनात्मक चेत हराउंदै गएको छ । शिर्ष नेतृत्व नै आलोचनादेखि डराउंछ । आफ्ना वरिपरि “एस म्यान” खडा गरेर चाकडी, प्रशंसा र देवत्वकरण गराउने धुनमा तल्लीन देखिन्छ । प्रशंसा र आत्मरतिमा रमाउने नेतृत्वले आलोचनालाई पचाउन सक्दैन । र आलोचक हरुलाई किनाराकृत गर्ने वा निस्तनावुद पार्ने षडयन्त्रमा आफुलाई उभ्याउने गरेका छन् वर्तमानका नेतृत्ववर्गले ।

आफैले गरेको गल्ती कमजोरीलाई आफैले पहिचान गरी वा अरुले देखाएको आलोचनालाई स्वीकार गरी गल्ती महशुस गर्ने बिधि नै आत्माआलोचना हो । अराजकताको अर्को नाउं अनुशासनहीनता हो । अनुशासन कायम गर्न नसक्नु नेतृत्वको कमजोरी हो । दलभित्र अराजकता फस्टाउंदा सो दललाई मात्र नोक्सानी हुने होइन, यसबाट दलीय प्रणाली र लोकतन्त्रलाई नै क्षति पुग्न गएको छ । त्यसबाट सो दलको अस्तित्वमा मात्र प्रश्न उठ्दैन त्यसको संगसंगै दलीय प्रणाली र त्यसमा उभिएको लोकतन्त्रमाथि पनि अनेक शंका उपशंका उठ्छ । लेनिनवादी संगठनात्मक सिद्धान्त मान्ने बिश्वका कम्युनिष्टहरुले बैठकहरुमा सुरुमा वा अन्तिममा सबैले सबैको आलोचना गर्ने र फेरि सबैले आफ्ना गल्ती कमजोरी स्वीकार गरि कमजोरी पुष्टि भए कमजो–रीको प्रकृतिअनुसार आत्माआलोचना, स्पष्टीकरण वा कारवाही व्यहोर्ने गर्दछन् । नेपालका कम्युनिष्ट पार्टीहरुमा पनि विभिन्न बेलामा भएका बैठकहरुले कमजोरीहरुको सिंहावलोकन गरी पार्टीबाट निष्काशनसम्मको कारवाही भएको इतिहास छ । तर, आजभोलि यो एकादेशको कथा झैं भैसक्यो ।

कम्युनिष्टहरुले मान्ने गरेको संगठनको सिद्धान्त लेनिनवादी संगठनात्मक सिद्धान्त नै हो । लेनिनवादी सिद्धान्तको मुख्य आधार भनेको पार्टीका हरेक सदस्य संगठनको मातहत हुनु पर्दछ भन्ने हो । यो सिद्धान्तले भन्दछ ‘व्यक्ति संगठनको मातहत हुनु पर्दछ, अल्पमत बहुमतको मातहतमा हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको मातहतमा हुनु पर्दछ ।

पार्टीका सबै संगठनहरु केन्द्रीय कमिटीको मातहत हुनु पर्दछ । केन्द्रीय कमिटी महाधिवेशनको मातहत हुनुपर्दछ र महाधिवेशन पार्टीका संगठित सदस्यहरुको मातहत हुनु पर्दछ । लेनिनवादी संगठनात्मक सिद्धान्तको अर्को मुल आधार जनवादी केन्द्रीयता पनि हो । जनवाद र केन्द्रीयता एक अर्काका परिपुरक हुन्छन् । जनवाद बिनाको केन्द्रीयता निरंकुश हुने गर्दछ भने केन्द्रीयताबिनाको जनबाद अराजक बन्दछ ।

जनबादमा हरेक सदस्यहरुले आफ्नो कुरा राख्न पाउने, संगठनमा चुन्न र चुनिन पाउने, पार्टीमा उठेका मुद्दाहरुमा बहस गर्न पाउने जस्ता अधिकारहरु पर्दछन् भने जनवादी अधिकार प्रयोग गरेर नेतृत्वमा पठाई– एकाहरुले पठाउनेहरुमाथि शासन गर्न पाउने अधिकार केन्द्रीयतामा व्यवस्था गरिएको हुन्छ । त्यस्तै सिद्धान्तको अर्को महत्वपूर्ण पाटो हो आत्माआलोचना । पार्टीका बैठक हरुमा हरेक पदाधिकारीले आफ्नो कमी कमजोरी आफै प्रस्तुत गर्न पाउने र आफुबाट अञ्जानमा भएका कमजोरीलाई सच्याउने प्रतिवद्धतासहित आत्माआलोचित हुनु नै आत्मा आलोचनाको विधि हो । बैठकमा आफुबाट भएको कमजोरी बुंदागतरुपमा प्रस्तुत गर्ने र अब उप्रान्त त्यस्ता गल्ती हुने छैनन् भने अन्य बैठकका सदस्यहरुलाई विस्वस्त पार्ने विधिलाई आत्माआलोचनाको विधि भनिन्छ ।

तर, एमाले, माओवादीलगायतका कम्युनिष्ट पार्टीहरुमा भएका बैठक र गरिएका आलोचना–आत्मालोचनामा अबका दिनमा कुनकुन कुरा नदोहोरिने हुन् ? पार्टीमा के के कुरामा भिन्नता आउने हो ? अहिले सम्म नेताहरुले गरेको कमजोरीहरु केके हुन् ? सुधार्ने प्रतिबद्धता केके हुन ? अहं ! कुनै पार्टीमा केहि पनि सुन्न पाइएको छैन । जसले जे भने पनि दलहरुमा देखिएको अहिलेको लडाईं पार्टीलाई विधि र बिधान बाट संचालन गर्नुपर्छ भन्ने विषय आवरणमा केन्द्रित भएको त देखिन्छ । तर, अन्तर्यमा भने फेरि पनि शिर्ष नेताहरुको इगो र व्यक्तिगत अहंकारको प्रतिफल नै हो भन्न सकिन्छ । एकले अर्कोलाई स्वीकार गर्न नसक्ने प्रवृत्तिको टकराव यतिबेला हरेक दलमा देखिएको छ ।

एमाले अध्यक्ष ओली, बरिष्ठ नेता नेपाललगायत सबै नेताहरुले इमान्दारीपूर्वक आत्माआलोचना गरेका हुन भने आम पार्टी सदस्यहरुले शिर्ष नेताहरुले गरेको आलोचनाको बुंदाहरु अवश्य सुन्न पाउने छन् । नेताहरुले स्वीकार गरेको भनिएको कमी कमजोरीहरु के के हुन् सबैले जान्न पाउने छन् । फुटको संघारमा पुगिसकको एमाले एकतालाई जोगाउने सुत्र भनेकै दुबै पक्षको संयुक्त बैठक बसेर आलोचना–आत्मालोचनाको बिधि हो ।

यसले नयां आधारमा नयां एकताको जन्म गराउंछ । त्यसैगरी, माओवादी अध्यक्ष प्रचण्डका हालका दुःख र तनावको निरा करण पार्टीभित्र बिधिको विकास नै हो । माक्र्स, लेनीन र माओले प्रष्टसंग देखाएको र संसारभरिका कम्युनिष्टहरुले अंगिकार गरेको नियम, बिधि र अनुशासनको परिपालना नै प्रचण्डलाई तनावबाट मुक्ति दिलाउने र ओली–नेपाललाई एक गराउने अचुक अस्त्र हो ।
: अस्तु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here