महेन्द्र प्रसाद सापकोटा
जापान । नक्कली डकुमेन्ट र डिपेन्डिङ भिसा प्रकरणले अहिले जापान जान चाहने नेपाली श्रमिकहरूबीच गम्भीर चिन्ता उत्पन्न गराएको छ। पछिल्ला दिनमा नेपालका केही मेनपावर कम्पनी र कन्सल्टेन्सीहरूले नक्कली डकुमेन्ट बनाएर श्रमिकहरूलाई जापान पठाउने कार्यलाई तीव्रता दिएको पाइएको छ।
नेपालमै बसेर ब्याचलरको अध्ययन नगरेका व्यक्तिहरूलाई प्रमाणपत्र तयार पारिदिने, नक्कली विवाह दर्ता बनाउने, र मेनेजर भिसामा जापान पठाउने जस्ता क्रियाकलापका बारेमा थुप्रै गुनासा आएका छन्। यस्ता प्रकरणहरूमा व्यक्तिहरूलाई १० लाखदेखि १५ लाखसम्म रकम असुल्ने गरिएको छ। डिपेन्डिङ भिसाका लागि झुट्टा विवाह दर्ता बनाई पीडितहरूबाट ठगी भइरहेको खुलासा समेत भएको छ।
जापानको इमिग्रेसनले नक्कली कागजात चेक नगरी भिसा जारी गरेको कुरा निकै आश्चर्यजनक भएको छ। पीडितहरूले बताएअनुसार, नक्कली प्रमाणपत्र र डकुमेन्टहरूको सत्यापन नगरी भिसा स्वीकृत हुने क्रम जारी छ। यसले गर्दा जापान पुगेका व्यक्तिहरू समस्यामा परिरहेका छन्।
नाम नखुलाउन चाहने एक व्यक्तिले भने, “मलाई नक्कली डकुमेन्ट बनाएर डिपेन्डिङ भिसा दिन्छु भनियो। तर, अहिले जापान पुगेपछि मेरो डकुमेन्ट नक्कली भएको खुलेको छ। यसले गर्दा मेरो इमिग्रेसन प्रक्रिया खतरामा परेको छ।”
यस्ता घटनाहरूका कारण धेरै नेपाली श्रमिक अलपत्र पर्ने र ठगीमा पर्ने गरेका छन्। नेपाल सरकार र सम्बन्धित निकायहरूले यस विषयमा गहिरो अनुसन्धान गरी कडा कानूनी कारबाही गर्ने तर्फ ध्यान दिन आवश्यक छ। साथै, जापानको इमिग्रेसनले पनि डकुमेन्टहरूको कडाइका साथ सत्यापन गर्ने प्रक्रियालाई बलियो बनाउनुपर्छ।
यस्ता घटनाले नेपाली श्रमिकहरूको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउन सक्छ। अबको कदम भनेको पीडितहरूको न्याय सुनिश्चित गर्दै ठगीमा संलग्न गिरोहलाई कारबाही गर्नु हो ।